नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल
काठमाडौं । द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ । “स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको हो जसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
यस वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटन समारोह आज काठमाडौंमा आयोजना गरिएको थियो । यस कार्यक्रममा सम्माननीय प्रतिनिधि सभा सभामुख देवराज घिमिरेज्यु, गृहमन्त्री रमेश लेखकज्यु, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीज्यु सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भिर बनाएको छ । यी चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ । यो कार्यक्रममा बगैंचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ जसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पुर्याउनेछ ।
द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस परियोजनाबारे बोल्दै भने, “द कोकाकोला फाउण्डेशनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको छ । नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुनेछ ।”
यो वृक्षारोपण कार्यक्रमको पहिलो चरण अन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणमा कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा वृक्षारोपण विस्तार हुनेछ । यस पहलमार्फत हजारौं कृषकहरूले फलफूल उत्पादन वृद्धि, बाली विविधिकरण, माटोको स्वास्थ्य सुधार, पानी संरक्षण, रोग नियन्त्रण र आम्दानीका अतिरिक्त अवसरहरू प्राप्त गर्नेछन् । कृषि वन प्रणालीलाई समावेश गर्दै यस परियोजनाले वातावरण संरक्षण र आउँदो पुस्ताका लागि जमिन व्यवस्थापनमा योगदान पुर्याउनेछ । साथै, यस परियोजनाले कार्बन क्रेडिट प्रणालीको पनि समावेश गर्दै कृषकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै थप आम्दानीका अवसरहरू पनि प्रदान गर्नेछ ।
नेपालको कृषि भविष्यका लागि यो वृक्षरोपण कार्यक्रमको महत्वलाई स्वीकार गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले भन्नु भयोे, “यो पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । पुनरुत्पादक वृक्षरोपण प्रविधि अपनाएर हामीले यस परियोजना मार्फत कृषकहरूको जीवनस्तर सुधार गर्नुका साथै भूमिको दिगोपना बढाउन र जलवायु परिवर्तनको सामना गर्न सहयोग पुर्याउनेछ ।”
सहारा नेपालका चेयर पर्सन श्री भरत कुमार गिरीले पनि यस सहकार्य बारे बोल्दै भने, “यस पहलमार्फत हामी कृषकहरूलाई दिगो कृषि अभ्यासहरूमा सशक्त बनाउँदैछौं, जसले उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षणमा पनि सहयोग पु¥याउनेछ ।”
त्यसैगरी वराहा क्लाइमेटएजी प्रा.लि. का प्रतिनिधि श्री कौशल बिष्टले भने, “कृषि वन प्रणाली र कार्बन क्रेडिट प्रणालीलाई एकीकृत गर्दै हामी यस्तो मोडेल सिर्जना गर्दैछौं जसले कृषकहरूलाई आर्थिक वृद्धिका साथसाथै जलवायु प्रतिरोधात्मक क्षमता निर्माणमा पनि सहयोग पुर्याउनेछ ।”
द कोका–कोला फाउण्डेशनले नेपालमा वातावरण संरक्षण, पानी व्यवस्थापन, विपद् राहत र आर्थिक विकासमा केन्द्रित विभिन्न पहलहरू गर्दै आएको छ । यो वृक्षारोपण कार्यक्रम फाउण्डेशनको समुदायमा दीर्घकालीन परिवर्तन सिर्जना गर्ने प्रतिबद्धताको अर्को एक उदाहरण हो ।