राष्ट्रिय सभामा अघि बढ्यो पानी जहाज विधेयक
![Clipboard03 Clipboard03](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard03-7-680x327.jpg)
काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ अघि बढेको छ ।
विहिबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त विधेयक पेश गर्नु भएको थियो । सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आईतबारको बैठकबाट अघि बढे भएसँगै यसको प्रकृया अघि बढेको हो ।
बैठकमा सांसदहरुले आआफ्नो धारणा समेत राखेका छन् । सांसदहरु भगवती न्यौपाने, डा. बेदुराम भुषाल, तुलसाकुमारी दाहाल, गोपीबहादुर अछामी, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोईराला, सुरेशकुमार आले मगर, पदमबहादुर परियार र सुमित्रा बिसीले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै आ आफ्नो धारणा राखे ।
सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दाहालले पानी जहाज दर्ता ऐन, २०२७ मा समुद्रमा नेपाली पानी जहाज सञ्चालनको आधार नरहेकाले नयाँ विधेयक ल्याईएको बताए । विधेयकले समुद्र माथि भुपरिबेष्ठित देशहरुको समेत अधिकार रहेको र त्यसको उपयोगका लागि कानूनी धरातल तयार पार्ने उनले उल्लेख गरे ।
यो विधेयक पारित भई कानूनको रुपमा आए पछि समुद्रहरुमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ । यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरुमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरु नियमन र व्यवस्थापनका लागि समेत कानूनी आधार तयार हुने छ ।
आईतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिए पछि ‘विधेयक माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत् पारित भएको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक आगामी माघ २८ गते सोमबार १ः१५ बजे बस्ने छ ।