चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंक बीच सम्झौता
![IMG-20250207-WA0006 IMG-20250207-WA0006](https://www.arthikpati.com/wp-content/uploads/2025/02/IMG-20250207-WA0006-1024x683-1600x1066.jpg)
चितवन । नेपाल – प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहका अवसरमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सहकारी सङ्घका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडका तर्फबाट सांग्रिला श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।
यस सम्झौताका अनुसार, दुग्ध उत्पादक किसानहरुलाई लक्षित गरी सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र सहकारीबीच सहकार्य हुने भएको छ। यसबाट किसानहरुलाई आवश्यक पूँजी प्रवाह गर्न सहयोग पुग्ने तथा दुग्ध उत्पादन क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रभु बैंक लिमिटेड, जसले हालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको छ, नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम, तथा ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ अगाडि बढिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ। साथै, प्रभु बैंक “फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४” अवार्डबाट समेत सम्मानित भएको छ।
यस समझदारीले विशेष गरी दुग्ध क्षेत्रका किसानहरुलाई वित्तीय पहुँच अभिवृद्धि गर्ने विश्वास गरिएको छ, जसले देशको कृषि तथा दुग्ध उत्पादन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।