बैंकिङ क्षेत्रमा भ्रामक र गलत अभिव्यक्ति फैलाउनेलाई कारबाही गर्न माग
![bankers-logo bankers-logo](https://www.arthikpati.com/wp-content/uploads/2025/02/bankers-logo-900x500.jpg)
काठमाडौं । बैंकिङ क्षेत्रका ४ संस्थाहरुले बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले यस्ता गतिविधिमा संलग्नहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनीहरुले सामाजिक संजालहरुमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना-समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन अनुरोध गरेका छन् ।
साथै, आम-सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरेका छन् ।
‘यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति-नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको उनीहरुको भनाई छ ।
अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासेल लगायत) को व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘बैंकिङ क्षेत्र प्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्नुहुने समस्त ग्राहकवर्गहरु तथा आम जनमानसमा सही सूचना-तथ्य पुर्याउन सहयोग गर्नुहुने संचार माध्यमहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवा–सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।