ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त
![Independent Board of Director Independent Board of Director](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Independent-Board-of-Director-1024x693-1460x688.png)
काठमाडौ । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिको बुधबार बसेको ५०९औँ बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रेग्मी हिजो बुधबारदेखि नै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका रेग्मीसँग नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । कानुन विषयमा स्नातकोत्तर उनले नेपाल सरकारअन्तर्गतका विभिन्न निकायमा कानुनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।
रेग्मी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् । नेपाल मध्यस्थता परिषद्को आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् । उनका बैंकिङ कानुन तथा संस्थागत सुशासनसम्बन्धी पुस्तक र विभिन्न रिसर्च पेपर एवं जर्नलहरूमा आलेखहरू प्रकाशित भएका छन् ।
नवनियुक्त सञ्चालक रेग्मीको लामो कार्यानुभव तथा विषयगत कुशलता र दक्षताले ज्योति विकास बैंकलाई थप सवल तथा सफलताउन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।