टेलिकमका २०१ कर्मचारीले पाए ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक
काठमाडौँ । नेपाल टेलिकमका २०१ जना कर्मचारीहरूले ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाएका छन् । मंगलबार २१ औँ वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो ।
५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरूमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरू छन् । यस्तै उनीहरूलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।
स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरूलाई पाँच ग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको नेपाल टेलिकमले जनाएको छ ।
पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरूको पदअनुसार फरक–फरक रहेको छ । पदक पाउने कर्मचारीहरू २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरू छन् ।