दिगो विकासका लागि स्थायीत्व आवश्यक: उद्योग मन्त्री भण्डारी
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थायित्वले मात्रै दिगो विकास सम्भव भएको बताएका छन् । मंगलबार गृह जिल्ला बैतडी पुगेका मन्त्री भण्डारीले पाटन नगरपालिका–०२ सिलङ्गा स्थित सिद्धनाथ माविको वार्षिकोत्सव समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिने कारणले विकासमा पनि बाधा पुगेको बताए ।
‘स्थायित्व भए मात्रै दिगो विकासको अनुभूति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरू दीर्घकालीन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्, ’ मन्त्री भण्डारीले भने, ‘राजनीतिक स्थायित्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटिहरू छन् यसलाई सच्याउनु पर्नेछ, त्यसमा सरकार लागेको छ ।’
बैतडीबाट प्रतिनिधित्व गरेर उद्योग मन्त्रालयको जिम्मेवारी समाल्दा आफू कहिकतै नडगमगाएको मन्त्री भण्डारीको दाबी छ । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गरिरहेको बताउँदै उनले आधारभूत विकासका संरचना, विकासका आयोजना, गुणस्तरीय शिक्षा प्रदान लगायतका सेवा प्रवाहमा प्रतिबद्धता जनाए अनुसार काम भइरहेको बताए । उनले बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफलमा रहेको बताए ।
बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत उनको दाबी छ । जिल्लाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।
सोही कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले भौतिक विकासका लागि आफ्नो पहल रही रहने बताए । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढी रहेको समेत उनले बताए ।