प्रिमियर इन्टरनेसनल स्कूलद्वारा लिटरेचर फेस्टिभल सम्पन्न

काठमाडाैं । प्रिमियर इन्टरनेसनल स्कूलले आफ्नो वार्षिक इन्टरनेसनल लिटरेचर फेस्टिभल सम्पन्न गरेकाे छ । यो कार्यक्रम विद्यार्थी-नेतृत्वमा आधारित कार्यक्रम साहित्यको परिवर्तनकारी शक्तिको उत्सव मनाउँदै नेतृत्व, सृजनशीलता, र समालोचनात्मक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो।
यो फेस्टिभलले विद्यार्थीहरुलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग अन्तर्क्रिया गर्न, र विश्वव्यापी सोच भएका व्यक्तित्व बन्ने अवसर प्रदान गर्ने प्रतिबद्धतालाई उदाहरणस्वरूप प्रस्तुत गरेकाे प्रिमियरकाे दाबी छ ।
तीन दिन लामो चलेकाे यो कार्यक्रमले विभिन्न कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरू समेटेको थियो, जसमा कथा सुनाउने सत्र, प्यानल छलफल, अन्तरक्रियात्मक कार्यशालाहरु, र प्रेरणादायक अतिथि सत्रहरु समावेश थिए। विद्यार्थीहरूले विषयवस्तु योजना गर्नेदेखि व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया हाँक्दै, ठूला कार्यक्रमहरू व्यवस्थापन गर्नका लागि सहकार्य, टोली भावना, र आत्मविश्वास विकास गर्न मूल्यवान अनुभव हासिल गरे।

कार्यक्रमको बौदधिक पक्षलाई थप बलियो बनाउन “बीट्विन द लाइन्सः बायस इन लिटरेचर एन्ड द राइटर स रिस्पोन्सिबिलिटी’ शीर्षकको प्यानल छलफल आयोजना गरियो। यो सत्रलाई त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका सह-प्राध्यापक महेश पौडेलले सञ्चालन गरे । प्यानल सदस्यहरु मीक्खा माथेमा, शरारेह बज्राचार्य, र बीना थेडले साहित्यले समाजका मान्यता र पूर्वाग्रहलाई कसरी प्रतिबिम्बित गर्छ भन्नेबारे छलफल गरे । विद्यार्थीहरूले आफ्ना धारणा र प्रश्नहरू प्रस्तुत गर्दै प्यानल सदस्यहरूको विचारहरूसँग गहिरो अन्तक्रिया गरे, जसले समालोचनात्मक र परावर्तनात्मक सोचलाई प्रोत्साहन गरेका थिए ।
प्रसिद्ध बाल साहित्यकार अनन्त वाग्लेलाई यस फेस्टिभलमा नेपाली साहित्यमा लामो समयसम्म गरेको अतुलनीय योगदानका लागि सम्मानित गरिएकाे थियाे । उनको कथावाचन शैली र प्रभावकारी कथानक रचनाले बाल पाठकहरू र युवा लेखकहरुलाई प्रेरित गर्दै आलोचनात्मक सोच र कल्पनाशीलतालाई प्रोत्साहित गरेको छ।

विद्यालयकी निर्देशक पवित्रा लिम्बुले शिक्षिका र प्रशिक्षकहरुका लागि ‘द पावर अफ लिटरेचर शीर्षकको कार्यशाला आयोजना गरेकी थिइन् । यो सत्र उपत्यकाका विभिन्न विद्यालयका शिक्षकहरुले सहभागिता जनाउँदै साहित्यले कसरी जिज्ञासा जगाउन, मन खोल्न, र परम्परागत पाठ्यपुस्तकभन्दा बाहिरको समालोचनात्मक सोचलाई प्रोत्साहित गर्न सक्छ भन्नेबारे छलफल गरेकाे उनकाे भनाइ छ ।

कार्यक्रममा प्रत्येक कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरु सुनिश्चित गरिएको थियो। पूर्व-प्राथमिक तहका विद्यार्थीहरुले फ्रेन्च, स्पेनिश, अंग्रेजी, र नेपाली भाषामा बहुभाषिक कथावाचनको आनन्द लिए भने, कक्षा १ का विद्यार्थीहरूले ‘फेन्सी न्यान्सी’ कथाबाट असामान्य शब्दहरुको अन्वेषण गर्दै रचनात्मकता र जिज्ञासा जागृत गरे। कक्षा २ ले शब्दरहित कथाहरुको चित्रण कार्यशाला, कक्षा ३ ले परीकथाहरुको कालक्रम लिने, र कक्षा ४ ले टिक गौचनको नेतृत्वमा पत्र लेखनको कलामा ध्यान केन्द्रित गरे। कक्षा १ का विद्यार्थीहरूले छन्द कविताको लयात्मक सौन्दर्य पत्ता लगाए। ठूला कक्षाका विद्यार्थीहरूले गहिरो र समालोचनात्मक गतिविधिहरूमा सहभागी भए।

कक्षा ६ ले काल्पनिक पात्रहरुका दृष्टिकोणमा प्यानल छलफलमा भाग लिए भने, कक्षा ७ ले पाठकको रूपमा आफ्नो विकासलाई प्रतिबिम्बित गर्ने “माई रिडिङ टाइमलाइन सिर्जना गरे। कक्षा ८ ले पुस्तकालय भ्रमणमा साहित्यमा पूर्वाग्रहहरू खोजी गरे। कक्षा ९ ले “साहित्यमा व्यंग्य विषयक सत्रमा विश्लेषणात्मक सोच र आलोचनात्मक दृष्टिकोणहरूलाई प्रोत्साहित गर्ने गरी चर्चित लेखकहरु पुरु लम्साल र अनन्त वाग्लेसँग अन्तरक्रिया गरे। सिनियर हाई स्कूलका विद्यार्थीहरूले साहित्यिक सृजनशीलताको लागि ब्ल्याकआउट कविताहरु प्रस्तुत गरेका थिए ।
