बैंक–वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंक–वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैंकले गर्ने जनाउँदै उनले भने, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, उतारचढाव आउन सक्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।”
गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक अहिलेको अवस्थामा गर्व गर्न लायक रहेको भन्दै बैंकको पुँजीवृद्धिको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए । उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैंकले सुधार गर्दै लगिरहेको बताए ।
देशभैभर दुई सय ९४ शाखा रहेको सो बैंकले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ । चालु आवको पुस मसान्तसम्म बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ २ अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइयो ।