६ महिनाको व्यापार घाटा ७ खर्ब २३ अर्ब, निर्यात ३१.७८ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ४.३८ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको पुस मसान्तसम्मको विवरण अनुसार ६ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्ममा मुलुकले ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको पुस महिनासम्म कूल आयात ७.०६ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्मको विवरणअनुसार ६ महिनाको अवधिमा नेपालको निर्यात ३१.७८ प्रतिशतले बढेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ६ महिनाको अवधिमा ६९ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।