अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले लिए सपथ : आप्रवासन नीतिमा कडाइ गर्ने
वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका थिए । राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भने, “आजबाट अमेरिकाको स्वर्ण युगसुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ ।” उनले अगाडि भने, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु ।” “अमेरिकाको सार्वभौमिकता पुनस्र्थापित हुनेछ, सुरक्षा पुनस्र्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उनले भने ।
ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताएका छन् । राष्ट्रपति ट्रम्पले भने, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।” डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका थिए ।
उनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए । ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताए । सामान्यतया अमेरिकी क्यापिटल बाहिर हुने सपथ ग्रहण समारोह यस पटक चिसोका कारण हलमा गरिएको थियो ।
२०० भन्दा बढी निर्णयमा हस्ताक्षर हुने सम्भावना
सपथ लिएपछि ट्रम्पले करिब २०० कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको छ । यीमध्ये केही निर्णय कानुनजस्तै कार्यान्वयन हुनेछन् भने केही घोषणा हुनेछन् ।
कार्यकारी आदेश राष्ट्रपतिको एक प्रकारको आदेश हो । यसलाई कार्यान्वयन गर्न कंग्रेसको अनुमोदन आवश्यक पर्दैन। आदेश कानून सरकारका नीतिहरु लागू गर्ने एक तरिका हो, तर तिनीहरुलाई अदालतमा चुनौती दिन सकिन्छ ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गरेका थिए । जसमध्ये धेरै अदालतमा विवादको हिस्सा बनेका थिए । यसको तुलनामा जो बाइडेनले १६०, ओबामाले २७७ र बुशले २९१ आदेश जारी गरेका थिए ।
एपी