नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा व्यापार सम्बन्ध थप मजबुत बनाउनका लागि भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ।
यस छलफलमा नेपाल र भारत बीचको व्यापार संझौतालाई विस्तार गर्ने र द्धिपक्षीय आयात–निर्यातलाई सुदृढ बनाउनका लागि विभिन्न उपायहरूमा गहिरो विचारविमर्श भएको थियो। साथै, छलफलको क्रममा अटोमोबाइल कम्पोनेन्ट, अटोमोबाइल स्पेयर पार्ट्स र विद्युतिय सवारी साधनका व्यापारका अवसरहरूको अन्वेषण गर्नका लागि थप छलफल गर्न निर्णय गरिएको छ।
चरणबद्ध रूपमा भएका यी छलफलको आगामी बैठकको मिति तय गरी भारतीय प्रतिनिधिहरूलाई नेपालमा निमन्त्रणा गर्न पनि सहमति भएको छ।
भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अटो प्रदर्शनीको अवसरमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको एक प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको हो। यस कार्यक्रममा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह र अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो।
नाडा तर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेत उपस्थित थिए।