पाटा नेपाल च्याप्टरले नाईस कार्यक्रमका लागि भारतको नयाँ दिल्लीमा साझेदारीहरू सुदृढ बनाउँदै
काठमाडौं । आगामी फेब्रुअरी २४ देखी २६ सम्म पोखरामा आयोजना हुने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडाल र भारतका लागि नाईस सद्भावनादूत उपल मजुमदारले यही जनवरी १५ देखि १७ सम्म नयाँ दिल्लीको अत्यन्तै फलदायी भ्रमण गरेका छन।
भ्रमणका क्रममा भारतका प्रतिष्ठित पर्यटन संस्थाहरूका अग्रज व्यक्तित्व र प्रतिनिधिहरूसँग भेटघाट गरे, जसमा प्रतिष्ठित पर्यटन र आतिथ्य व्यवसायी श्री ग्रीश बिन्द्रा, ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया उत्तरी क्षेत्रका अध्यक्ष श्री नीरज मल्होत्रा, पाटा ईन्डियाका कार्यकारी निर्देशक श्री रुनीप सांघा र प्रबन्धक सुश्री पूनम राजपूत, ग्लोबल एसोसिएसन अफ इभेन्ट्स एन्ड हस्पिटालिटी प्रोफेसनल्सका अध्यक्ष श्री राजेश आर्या र महासचिव श्री प्रणव बन्सल, इन्डिया कन्भेन्शन प्रमोशन ब्यूरोका उपाध्यक्ष श्री चन्दर मान्शारामानी र कार्यकारी निर्देशक श्री अनुज वाधवा, आउटबाउन्ड टुर अपरेटरस एसोसिएसन अफ इन्डियाका उपाध्यक्ष श्री शर्वन भल्ला, अगोडाकी वरिष्ठ रणनीतिक प्रबन्धक सुश्री दिविता यादव लगायत इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट म्यानेजमेन्ट एसोसिएसनकी कार्यकारी निर्देशक सुश्री प्रिती खन्ना संग भेटघाट तथा सहकार्यका लागि छलफल गरेका हुन।
गत डिसेम्बरमा चीनको प्रवर्धनात्मक भर्मण पश्चात भारतमा गरिएको यस सहकार्यले नाईस कार्यक्रममा सहभागी हुने क्रेताहरु र बिक्रेताहरूबीच सम्बन्ध बिस्तार तथा पर्यटन व्यापार आदान–प्रदानको खोज, स्थापना, र विस्तारका गर्न प्रश्तुत कार्यक्रम एक महत्वपूर्ण मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। भारतमा अवस्थित सबै सम्मानित व्यक्तित्वहरू एवं संघसंस्थाहरुले क्षेत्रीय पर्यटनको प्रवर्धन, वृद्धि र सीमापार सहकार्यलाई बढावा दिने नेपालको पहललाई समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।