निराशा चिर्ने गरि काम गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागरिकमा रहेका निराशा चिर्ने गरि कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अहिलेको सरकार मुख्य ठुला दलहरु समेतको गठवन्धनमा बनेकाले यो स्थिर सरकार भएको समेत उनले बताए । स्थिर र बलियो सरकार भएकाले यसबाट नागरिकमा बढि अपेक्षा भएकाले ति अपेक्षा पूरा गर्ने ढंगबाट काम गर्न उनको निर्देशन छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौ अन्तर्गतका कार्यालयहरुको आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यशालालाई विहिबार काठमाडौमा संवोधनका क्रममा उनले अवरुद्ध र रोकिएका योजनाहरुलाई समेत तिव्रता दिन निर्देशन दिए ।
सरकारको कार्यसम्पादनको प्रतिविम्ब सरकारी कार्यालय र कर्मचारीहरुको सेवा प्रवाहमा झल्कने भएकाले लक्ष्य पूरा हुने ढंगबाट कार्यसम्पादनको गति बढाउन समेत जोड दिए ।
नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिको प्रयोग गरेर समेत निर्माण कार्यलाई तिव्रता दिनु पर्ने उनको भनाई छ । लामो समय सम्म योजनाहरु अवरुद्ध हुने, कतिपय अलपत्र हुने तथा विचैमा रोकिने जस्ता कुराले नागरिकलाई निराश बनाउने भएकाले पूर्वाधार निर्माण क्षेत्रमा रहेका अवरोधहरुको पहिचान गरि समाधान तर्फ लाग्न समेत उनको आग्रह छ । नीतिगत तथा कानूनी समस्याले निर्माण क्षेत्रलाई अवरुद्ध पाएको भएमा नीतिगत सुधारका लागि मन्त्रालयले भुमिका निर्वाह गर्ने भएकाले सराकात्मक लक्ष्य र उदेश्य राखि निर्भयता पूर्वक कार्यक्षेत्रमा खटिन उनको निर्देशन छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले सवै कार्यालय तथा आयोजनाहरुले राखेका लक्ष्य पूरा गर्ने गरि कार्यसम्पादनको गति बढाउन निर्देशन दिए । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणका क्षेत्रमा देखिने बेरुजू न्युनिकरण गर्दै लक्ष्य हाँसिल गर्न निर्देशन दिए ।
कार्यक्रममा सडक विभागका उपमहानिर्देशक उमेशबिन्दू श्रेष्ठ, उपसचिव विष्णुबहादुर घर्ती, लेखा प्रमुख रविन कोईराला, मन्त्रालयका लेखा प्रमुख मधु पोखरेल, सडक विभागका कार्यकारी निर्देशक गणेश केसीले विभिन्न विषयमा अभिमुखीकरण गरेका थिए । यसै गरि प्रा.डा. तत्व तिम्सिनाले समृद्धी अभियानमा सन्तुलित मन, मस्तिस्क र मनस्थिति विषयमा उत्प्रेरक प्रस्तुती राखेका थिए ।
कार्यालय र कर्मचारीलाई सम्मान
कार्यक्रममा बाढि पहिरोको समयमा सडक खुलाउन उल्लेखनीय भुमिका निर्वाह गरेका कार्यालय तथा कर्मचारीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार गत असोजमा आएको बाढीका कारण अवरुद्ध तथा क्षतिग्रस्त बनेको बीपी राजमार्ग सहितका सडकहरु मर्मत गरि सडक सञ्चालनमा उल्लेख्य भुमिका खेल्ने हेविईक्युपमेन्ट डिभिजन काठमाडौ, हेटौडा र जनकपुर तथा यान्त्रिक कार्यालय नुवाकोट र मुलकोटलाई सम्मान गरिएको हो ।
यस्तै हेविईक्युप्मेन्ट चालक तथा सहयोगी गरि ८० जनालाई प्रशंसा पत्र प्रदान गरिएको न्यौपानेले जनाए । सडक डिभिजन अन्तर्गतका कर्मचारी तथा सहयोगीका साथै निजी क्षेत्रका चालक, प्राविधिकहरुलाई समेत सम्मान गरिएको हो ।