ग्लोबल आईएमईद्वारा प्रस्तुत एनवाईईएफ काठमाडौं च्याप्टरको अवार्ड सम्पन्न
काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली स्टार्टअपको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौंको प्रतिष्ठित हायात रेजेन्सी होटल चाबहिलमा आयोजना गरिएको थियो। कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाको सहभागी भएका थिए।
यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो। उपविजेताको रुपमा मेल्ट डाउनलाई २ लाख नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडिअन्स पिक अवार्ड जित्दै १ लाख प्राप्त गरेको थियो।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए।
यस कार्यक्रमको सफलता ग्लोबल आईएमई बैंकजस्ता शीर्षक प्रायोजक र अन्य साझेदारको उदार सहयोगबाट सम्भव भएको हो। एनवाईईएफ स्टार्टअप अवाड्र्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफलताका लागि नेपालको सबैभन्दा आशाजनक स्टार्टअपको पहिचान र सम्मान गर्ने महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्दै आएको छ।
कार्यक्रममा एनवाईईएफ काठमाडौं च्याप्टरले सबै सहभागी र विजेताप्रति बधाई ज्ञापन गर्दै नेपालमा समृद्ध उद्यमशील प्रणाली निर्माण गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।