दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न, उत्कृष्ट शोधपत्रका लागि सुशान्त रिजाल सम्मानित
काठमाडौं । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाको तेस्रो वार्षिक सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन (डब्लुटीओ) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको हो । सम्मेलनको समापन कार्यक्रममा विभिन्न २१ जना शोधपत्र प्रस्तुतीकर्ताहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेहरुलाई विशेष सम्मान गरिएको थियो ।
काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको यस सम्मेलनमा २१ वटा शोधपत्र प्रस्तुत गरिएका थिए । तीमध्ये ‘जलवायु परिवर्तनका कारण नेपालीको आयस्रोतमा आएको कमी’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका सुशान्त रिजालले बेस्ट पेपरको अवार्ड जित्न सफल भए । यसका साथै ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयमा रिया रेग्मी र दिपेश कार्कीले तयार पारेको शोधपत्रले रनरअप अवार्ड प्राप्त गरेको छ ।
सम्मेलनको समापन समारोहमा काठमाडौं विश्वविद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले सहभागी सम्पूर्ण शोधपत्र प्रस्तुतीकर्ताहरुलाई धन्यवाद व्यक्त गरे । उनले शोधपत्रहरु सबै उत्कृष्ट भए पनि केहीलाई मात्र छनोट गर्नुपरेको उल्लेख गर्दै अनुसन्धानका क्षेत्रमा सबैका योगदानलाई सराहना गरे । उनका अनुसार सम्मेलनअघि ४२ वटा शोधपत्रहरु पेश गरिएका थिए, जसलाई सर्टलिस्ट गरी २१ वटा शोधपत्रहरुलाई मात्र प्रस्तुतिका लागि छनोट गरिएको थियो ।
डा. वाग्लेले शोधपत्रहरुको छनोटका लागि छ वटा मापदण्ड तोकिएको जानकारी दिए । ती मापदण्डमा सम्मेलनको थिमप्रति अनुसन्धानको मेल, प्राज्ञिक तर्कमा योगदान, अनुसन्धानको विधि, डेटा विश्लेषणको गुणस्तर, समाधानका सम्भावना र अनुसन्धानको प्रभावशीलता समावेश थिए ।
सम्मेलनमा भारतस्थित सेन्टर फर ट्रेड एण्ड इन्भेस्टमेन्ट ल का एसिस्टेन्ट प्रोफेसर सात्विक सेखरले नेपालजस्तो विकासोन्मुख देशका लागि व्यापार कानुन र प्राज्ञिक ज्ञानबीचको पुल निर्माण गर्न यस्तो प्रकारका सम्मेलनहरु अपरिहार्य हुने बताए । उनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा भइरहेको अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनामा सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे । सम्मेलनमा भारत, बंगलादेश, नेपाल, युरोप लगायतका विभिन्न देशका शोधकर्ताहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
वरिष्ठ शोधकर्ता रिधिस राजवंशीले यो सम्मेलनले नेपालका लागि ज्ञान आदानप्रदानको मञ्चको रुपमा काम गरेको बताए । उनले विभिन्न देशका अनुसन्धानकर्ताहरुलाई नेपालको व्यापार र जलवायुपरिवर्तनले निम्त्याएको चुनौतीबारे बुझ्न सहयोग पु¥याएको उल्लेख गरे । भारतबाट सहभागी शोधकर्ता रचना सिन्नारकरले व्यापारमा महिलाको भूमिका र सशक्तीकरणमा यो सम्मेलनले नयाँ आयाम ल्याएको बताइन् ।
उनका अनुसार महिलाले व्यापारमा खेल्न सक्ने भूमिका, उनीहरुको आर्थिक तथा राजनीतिक सशक्तीकरणका पहलका लागि आवश्यक रणनीतिहरुबारे यस सम्मेलनमा छलफल गरिएको थियो । अर्का प्रस्तुतीकर्ता अलकनन्दा मिश्रले महिला, व्यापार र जलवायु परिवर्तनबीचको सम्बन्धबारे सम्मेलनमा विशेष चर्चा गरिएको बताईन् ।
उत्कृष्ट शोधपत्रका लेखक सुशान्त रिजालले जलवायु परिवर्तनले नेपालको व्यापार क्षेत्रमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने आर्थिक चुनौतीलाई आफ्नो अनुसन्धानले उजागर गरेको बताए । उनले आफ्नो शोधपत्रमा जलवायु परिवर्तनका कारण व्यवसायिक व्यक्तिहरुले भोग्नुपर्ने जोखिम र त्यसको निवारणका उपायहरुका बारेमा गहन अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार यो सम्मेलनले जलवायु परिवर्तन र व्यापारबीचको सामन्जस्यता बुझ्न र समस्याको समाधान खोज्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
सम्मेलनका अर्का सहभागी सान्ती रियाङका अनुसार यो कार्यक्रमले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुका लागि ज्ञान आदानप्रदान गर्ने प्लेटफर्मको रुपमा काम गरेको छ । उनका भनाइमा दक्षिण एसियाली देशहरुबीच व्यापार र जलवायु परिवर्तनका विषयमा सहकार्य गर्नका लागि यस्तो सम्मेलनले आधार तयार पार्छ ।
यो दुई दिने सम्मेलनमा भारत, चीन, टर्की, बंगलादेश, इन्डोनेसिया लगायतका नौवटा देशका प्रतिनिधिहरु सहभागी भएका थिए । शनिवारदेखि काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।
सम्मेलनमा प्रस्तुत गरिएको ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयक शोधपत्रका लेखक रिया रेग्मी र दिपेश कार्कीले नेपालजस्तो मुलुकका लागि डिजिटल प्रविधि अपनाउनु व्यापारिक सुधारको महत्त्वपूर्ण पक्ष भएको बताए ।
सम्मेलनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रहरुमा थप अनुसन्धानात्मक कार्य गर्न प्रोत्साहन गर्ने आयोजकहरुको अपेक्षा छ । आयोजकका अनुसार यो सम्मेलनले नेपालको व्यापार, जलवायु परिवर्तन, महिला सशक्तीकरण र डिजिटाइजेसनजस्ता विषयलाई गहिरो रुपमा अध्ययन गर्नका लागि नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
यस सम्मेलनले व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरुका लागि एउटा सशक्त मञ्चको रुपमा काम गरेको छ । सहभागी अनुसन्धानकर्ताहरुका अनुभव र ज्ञानबाट नेपाली अनुसन्धानकर्ताहरुले महत्वपूर्ण लाभ लिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने आयोजकहरुले जानकारी दिएका छन् ।