अब लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन इडिएल प्रणालीबाट दिन सकिने भएकाे छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले लाइसेन्सको आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणाली लागु गर्ने भएको हाे ।
मन्त्रालयका अनुसार प्रणाली लागु गर्ने सम्पूर्ण तयारी भइसकेको छ । याे प्रणाली लागु भएपछि भने भुक्तानीदेखि लाइसेन्सका लागि आवेदन अनलाइनबाटै गर्न सकिनेछ । यसरी, अब निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाइनमा बस्नु नपर्ने भएकाे छ ।
अबको दुई सातामा नै प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूमा इडिएल प्रणाली लागू हुनेछ । त्यसपछि भने लाइसेन्सका आवेदकहरूले सबै प्रक्रिया अनलाइनबाट गर्न सकिनेछ । त्यसका लागि राष्ट्रिय परिचयपत्रसँग लिङ्कअप गरिएको छ ।
यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लाइसेन्सका लागि चाहिने बायोमेट्रिक लिइनेछ ।यसअघि, यातायात व्यवस्था विभागले गर्दै आएको काम अब भने बागमती प्रदेश सरकारले गर्न लागेको हो ।