बिमा प्राधिकरणको कार्यकारी निर्देशक आन्तरिक बढुवाबाट छनोट गरिने
काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका ११ पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने भएको छ । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात बिमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशकदेखि सहायक निर्देशकसम्म कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ वटा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले कार्यकारी निर्देशक १ जना, निर्देशक ४ जना, उपनिर्देशक ५ जनाको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने जनाएको छ । १ जना उपनिर्देशकमा आन्तरिक प्रतियोगिताका आधारमा बढुवा गरिने भएको छ । खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक योग्य उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बिमा प्राधिकरणको मानव संशोधन विभागमा दरखास्त पेस गर्नुपर्नेछ । दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ ।
अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने ४० वर्षसम्मको सीमा तोकिएको छ। बिमा प्राधिकरणमा कार्यरत कर्मचारीको हकमा उमेरको हद तोकिएको छैन।