क्लिनिक वानको तेस्रो शाखा काठमाडौंको मण्डिखटारमा
काठमाडौं । क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा सञ्चालनमा ल्याएको छ। बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बीच रिवन काटेर क्लिनिक, ल्याबको उद्घाटन गर्दै सोही अवसरमा सञ्चालन गरिने नि:शुल्क स्वास्थ्य सिविर शुभारम्भ समेत गरेका हुन्।
उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लागेपछि मात्रै होइन, आफूलाई स्वस्थ राख्न पनि नियमित चेकजाँच आवश्यक रहेको बताए। खानपानमा जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने उनको भनाइ थियो।
क्लिनिक वानका उप कार्यकारी निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने उल्लेख गरे। ‘स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन, सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्छ,’ उनले थपे।
कार्यक्रममा उपमेयर अनिता लामा,वडा नम्बर ९ कि वडाध्यक्ष सुनिता त्रिपठी लगायतले स्वस्थ मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने बताए।
ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको क्लिक वानको काठमाडौंमा पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो।
उद्घाटनको अवसर पारेर शनिवारदेखि नै पाँच दिनसम्म नि:शुल्क स्वास्थ्य सिविर सञ्चालन गरिएको छ। डाक्टर परामर्श, इसिजी, युरिक एसिड, सुगर, कोलेस्टोरल जाँच नि:शुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।