एक महिने ‘बम्पर सेल मेला’ भृकुटीमण्डपमा, एकै ठाउँमा ५ हजार बढी डिजाइनका जुत्ता-चप्पल
काठमाडौं । राजधानीमा स्वदेशी तथा विदेशी जुत्ताहरुको बम्पर सेल मेला सुरु भएको छ ।
मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको मेलामा नेपालका प्रतिष्ठित उद्योगहरुबाट उत्पादित स्वदेशी तथा विदेशी उत्पादनहरुलाई प्रोत्साहित गर्नका लागि विभिन्न जुत्ता चप्पलहरु एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बम्पर सेल मेला आयोजक समितिका संयोजक डिल्लीप्रसाद सुवेदीले जनाए ।
मेलास्थलमा आयोजित एक विशेष कार्यक्रममा संयोजक सुवेदीले मेलामा ५ हजार भन्दा धेरै डिजाइनका जुत्ता चप्पल उपलब्ध भएको जनाए । उनले १० वटा स्टल रहेको मेलामा विशेष गरेर जाडो मौसमलाई मध्यनजर गर्दै स्पोर्टसका साथै छाला जुत्ताहरु १५ देखि ५० प्रतिशतसम्म छुटमा उपलब्ध हुने पनि जनाए ।
उनले मेलामा दुई दर्जनभन्दा बढी उद्योगबाट उत्पादित जुत्ता चप्पल रहेको हुनाले उपभोक्तालाई सहज रुपमा सस्तो मूल्यमा एकै ठाउँमा आफूले चाहे जस्तो जुत्ता चप्पल खरिद गर्न पाउने अवसर जुटाएको समेत बताए ।
उक्त अवसरमा मेलाका अर्का आयोजक बासु रोकाले जुत्ता र चप्पलमा मुलुकलाई आत्मनिर्भर भएको जनाउँदै यस व्यावसायलाई संरक्षण प्रवद्र्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्यमी र उद्योगलाई सुविधा र सहयोग उपलब्ध गराउनु पर्ने जनाए । उनले यदि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहित गेमा विदेशी ब्राण्डका जुत्ता चप्पलहरुको आयात कम भई देशको अर्थतन्त्रमा केही हदसम्म भए पनि सहयोग हुने उल्लेख गरे ।
उनले स्वदेशी जुत्ता उद्योगलाई केही हदसम्म खुला सिमाले असर पारेको जनाउँदै सरकारले त्यसका लागि केही नीति नियम बनाउनुपर्ने बेला भएको समेत जनाए । एक महिनासम्म चल्ने उक्त मेला बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने पनि मेला संयोजक सुवेदीले जनाए ।