हस्पिटालिटी वर्ल्ड क्याम्पसमा खाना महोत्सव २०२४ सम्पन्न (फोटो फिचर)
काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेको हस्पिटालिटी वर्ल्ड क्याम्पसले खाना महोत्सव २०२४ आयोजना गरेको छ । तालिमरत विधार्थीहरुको अग्रसरतामा शनिबार क्याम्पस परिसरमा खाना महोत्सव गरिएको हो ।
उक्त महोत्सवमा आगन्तुकहरूले खानाका परिकारहरू पकाउने कला, खानको परिकारको परीक्षण सम्बन्धमा जानकारी लिनुका साथै पाककला सम्बन्धी वर्कसपहरूमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । महोत्सवमा सामाजिक प्रभावकर्ता, कलाकार, विभिन्न कलेजका विद्यार्थी लगायत सर्वसाधारण गरी करिब पाँच सय जना उपस्थित भएका थिए ।
क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राजका अनुसार महोत्सवमा विद्यार्थीहरूले तयार पारेको विभिन्न प्रकारका खानाहरू राखिएको छ । महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि विभिन्न अन्तर्राष्ट्रिय व्यञ्जनको ५ स्टलहरू समावेश थिए ।
महोत्सवमा विभिन्न परिकारका खानाहरूको स्वादसँगै मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम समेत प्रस्तुत गरियो । विभिन्न मनोरञ्जनात्मक खेलहरूको प्रतियोगिता गराई विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ’, उनले भने, ‘अहिलेको शिक्षा एउटा कोठाभित्रको मात्रै होइन । व्यवहारमा पनि कार्यान्वयन गर्नु पनि हो । यही कुरालाई मध्यनजर गर्दै हामीले यो महोत्सवको आयोजना गरिएको हो ।’
यस क्याम्पसमा पढेका विद्यार्थीहरूले आजसम्म के के सिके भनेर उनीहरूको सिप हेर्नका लागि पनि यो महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । ‘यस खाना महोत्सव केवल परिकारको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्ध गर्ने माध्यम पनि हो । यस महोत्सवले यस संस्थामा तालिमरत विधार्थीहरुको सिकाइमा थप इँटा थप्ने काम भएको छ । यो कार्यक्रममा सहभागीहरूको हर्षोल्लास देखेर हामी निकै उत्साहित छौँ’, उनले भने ।
सीईओ राजका अनुसार हस्पिटालिटी वर्ल्ड क्याम्पस देशमा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम हरू सञ्चालन गर्ने गराउने उद्देश्य लिएर स्थापना भएको संस्था हो । देशको पर्यटन क्षेत्रको विकास र वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई आवश्यक सीप प्रदान गर्न यस संस्थाले हस्पिटालिटी म्यानेजमेन्ट अन्त्रगतका विभिन्न कोर्सहरू कोर्सहरू सञ्चालन गरिरहेको छ ।