शिव शंकर हाइड्रोले आईपीओ ल्याउने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले जारी गर्न लागेको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
शिवशंकर हाइड्रोले सर्वसाधारणका लागि रु सय अंकित दरका २५ लाख कित्ताले हुन आउने रु २५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्दैछ ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ ।
उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ५ करोड पुग्ने बताइएको छ।