एनसेलमा अब अनलिमिटेड डेटा सापटी सुविधा
काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन पाउने भएका छन् ।
सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले ग्राहकलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।
यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकले १ दिन अर्थात २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्नेछन् । कम्पनीले यो सुविधा १ पुसदेखि दिन थालेको हो ।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रुपैयाँ रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा लिन सक्नेछन् ।
यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल लिन सक्नेछन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने छ ।
कर सहितको सेवा शुल्क २ रुपैयाँ ४८ पैसा र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२ रुपैयाँ ४८ पैसा काटिनेछ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकले यो डेटा सापटी लिन सक्छन् ।
अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।
एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।