नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि

काठमाडौं । पौष ५,६ र ७ गतेसम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा नेपाल फर्मा एन्ड हेल्थ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुने भएको छ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्राली (इटीएसआइपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालीको संयोजकत्वमा आयोजना हुन लागेको हो।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने छन्। नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी हुने बताइएकोछ। यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ। नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ। यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहन्छ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्ने र नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकको दाबी छ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने र यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने बताइएको छ।