चिनी तस्करी मौलाउँदै: स्वदेशी उत्पादन गोदाममा, बजारमा छैन अभाव
काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत र अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन माग गरेको छ ।
स्वदेशमा स्थापित चिनी उद्योगहरुले गत क्रसिङ्ग सिजनमा उत्पादित चिनी नै केहि उद्योगहरुमा मौज्दातमा वाँकी रहेको छ । कमजोर अनुगमन र खुला सीमाको फाइदा उठाउँदै सीमा नाकाबाट चिनीको अवैध पैठारी बढ्दै गएको पाइएको हो । चिनीको अनाधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ्ग सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै विक्री नभई मौज्दातमा रहन जाने देखिएको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।
चिनीको अवैध आयात विगत लामो समयदेखि भइरहेको र यसको प्रत्यक्ष मार नेपाली उद्योगले खेपिरहेको उद्योगीहरूको भनाइ छ। नेपाली उद्योगलाई संरक्षण गरि किसानसम्म लाभ पुगोस् भनेर सरकारले आयातित चिनीको भन्सार महुसल दोबर बढाएको थियो। तर यसको प्रभाव भने अहिलेसम्म नदेखिएको संघका अध्यक्ष अग्रवालले बताए । संगठितदेखि खुद्रासम्म चिनीको अवैध आयात हुँदा नेपाली उद्योगीले उत्पादन गरेको चिनी गोदाममा थन्किएको उनको भनाइ छ।
चिनी उद्योगहरुको वर्तमान स्थिति
- संचालित चिनी उद्योगहरु : १३
- संलग्न उखुँ कृषक परिवार : करीव १,१५,७५५
- रोजगारी : प्रत्यक्ष÷अप्रत्यक्ष करीव ३०,५३५
गत क्रसिङ्ग २०८०/०८१ सिजनमा उखुँ क्रसिङ्ग र चिनी उत्पादन
- गत क्रसिङ्ग सिजनमा २००,३८,७५५ क्विन्टल उखुँ क्रसिङ्क गरीएको ।
- गत क्रसिङ्क सिजनमा १,७८,७१७ मे.टन चिनी उत्पादन भएको ।
- चिनीको सरदर रिकभरी ९ प्रतिशत
- गत क्रसिङ्ग सिजनमा चिनीको अत्याधिक मात्रामा अनाधिकृत पैठारी भएको हुँदा चिनीको उपलव्धतामा उपर्युक्त स्वदेशी माग एंव स्वदेशी उत्पादनको तथ्याङ्कवाट समेत स्पष्ट देखीन्छ ।
देशमा चिनीको कुल माग एवम् क्रसिङ्ग वर्ष २०८१/०८२ को उत्पादन प्रक्षेपण
- देशमा कुल चिनीको वार्षिक माग करीव २,५०,००० मे. टन
- चालु क्रसिङ्ग सिजन २०८१/०८२ शुरु हुन गैरहेको र करीव २,२०,००० मे.टन उत्पादन हुने प्रक्षेपण
सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्नका लागि भन्दै २०७५ सालमा भन्सार दरमा वृद्धि गरेपछि अवैध आयात फस्टाउँदै गएको छ।
यसरी चिनीको अवैध आयात फस्टाउँदा उखु किसान पनि मारमा पर्ने उद्योगीहरूको भनाइ छ। सरकारले किसानलाई नोक्सानी नहोस् भनेरै स्वदेशी उद्योगलाई संरक्षण हुनेगरि भन्सार महसुल बढाएको थियो तर तस्करीले त्यो प्रभावलाई निस्तेज पार्दा कुनै पनि लक्ष्य पूरा नहुने अग्रवालको भनाइ छ।
‘एकातिर राज्यको राजस्व गुमेको छ अर्कोतिर यस्ता तस्करीसँगै अन्य वस्तुको पनि अवैध व्यापार बढ्छ’ अग्रवाल भन्छन्। सीमा सुरक्षा प्रशासनले कसिलो अनुगमन गर्ने हो भने यस्तो तस्करी नियन्त्रण हुने भएपनि कसैको ध्यान नपुगेको अग्रवालको भनाइ छ। ‘सरकारले चाहेमा अनुगमन गर्नमात्र होइन नियन्त्रण गर्न पनि सक्छ। आखिर आउने ठाउँ त्यही हो, पुग्ने ठाउँ यही हो।
अनाधिकृत/अनियन्त्रित रुपमा भैरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्बन्धित सरोकारवाला निकायहरुमा संघले जोडदार माग गरेको छ ।