अरुण किमाथांका मुगु र कर्णाली निमार्णका लागि वित्तीय लगानी प्रस्ताव आह्वान, २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब लाग्ने
काठमाडौं । सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निमार्णका लागि लगानी जुटाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको छ । यी २ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको छ । यो आयोजना निमार्णका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ । यो आयोजना निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
विद्युत उत्पादन कम्पनीले यी २ आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा बनाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको हो । कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी खोजिएको हो । आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थालाई १५ दिनभित्र आशयपत्र पेश गर्न विद्युत उत्पादन कम्पनीले आग्रह गरेको छ । आशयपत्पेर पेश गर्ने समय पुस ८ गते दिउँसो १२ बजेसम्मलाई तोकिएको छ । आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ : ७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ ।
प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने छ । किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ । यस्तै मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ ।
आशयपत्र पेश गर्दा नेपाली नागरिक मात्र प्रबर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था भए स्थायी लेखा नम्बर, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, अख्तियार प्रत्यायोजन पत्र र स्वः घोषणा पत्रका प्रत्येक पानामा आफैंले दस्तखत गरी कागजातमा सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरी प्रतिलिपि पेश गर्नुपर्नेछ ।