नेपाल टेलिकमको रिचार्ज कार्डहरुको आपूर्तिमा देखिएको समस्या समाधान
काठमाडौं । आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु विगत केही दिनदेखि बजारमा सहज रुपमा उपलब्ध हुन सकिरहेको थिएन । हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको कम्पनीले जानकारी गराएको छ ।
यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको जारी वक्तब्य उल्लेख छ ।
केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनी दावी छ ।
रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।