थप १६ खानेपानी वितरण सञ्जालका ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएकामध्ये थप १६ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) का ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीब्रता दिँदै आएकोमा सोहीअनुरुप पाइपलाइनको अन्तिम परीक्षण गरिएको हो ।
जसअनुसार, निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत बिछ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरसहित काठमाडौं उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) का जम्मा ९८० किलोमिटर नयाँ पाइपलाइनमध्ये थप ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको हो ।
अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) को स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
यसअघि, पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) का जम्मा ३५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
हाल अन्तिम परीक्षण सम्पन्न भएका र यसअघि परीक्षण सम्पन्न गरी हस्तान्तरण गरिएका समेत गरी जम्मा ३० वटा डीएमए का ९२४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सम्पन्न भएको छ ।
बाँकी रहेका काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका ३ वटा डीएमए हरूका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण समेत यही डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको छ ।
निर्देशनालयबाट बिछ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) का नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइन रहेको छ ।
यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको छ । यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरू र थोक वितरण प्रणालीहरू हाल संचालनमा रहेका छन् । साथै, खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ र चुहावटको समस्या खासै देखिएको छैन ।