एडीबीबाट करिब १५ अर्ब रुपैयाँ ऋण स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर(करिब १५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले चालु आर्थिक वर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्विन्टल रु ५ सय ८५ रुपैया कायम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै मन्त्रिपरिषद्ले सोमबारबाट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन तथा भ्रमणलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।