नेपाल टेलिकमको एनटी क्रिकेट धमाका प्याक सार्वजनिक, ६९९ रुपैयाँमा ३०० जीबी डेटा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ ।
नेपाल टेलिकमले बिहीबार प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको मीट एन्ड ग्रीट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरे ।
यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रुपैयाँमा ३०० जीबी डेटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।
यसैगरी ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।
२०८१ मङ्सिर १४देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले एनपीएलका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् ।
यसका साथै कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मार्टसेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान एफटीटीएच नि:शुल्क जडान कार्यसमेत सम्पन्न गरिसकिएको छ ।