निर्जीवन बिमाको ४ महिनाको व्यापार १४ अर्ब ३५ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात साउनदेखि कात्तिकसम्म ४ वटा लघुबिमा कम्पनीसहित निर्जीवन बिमा कम्पनीहरुले १४ अर्ब बढी बिमा शुल्क संकलन गरेका छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १४ निर्जीवन बिमा र ४ लघु बिमा कम्पनीहरुले ९ लाख ९८ हजार ५९६ वटा बिमा लेख जारी गरेर १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
प्राधिकरणको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४ वटा लघुबिमा कम्पनीसहित १४ निर्जीवन बिमा कम्पनीहरुले २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले कात्तिक महिनामा ७ खर्ब ५३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बिमांक रकम बराबरको २ लाख ६० ६६५ वटा बिमा लेख जारी गरेका छन् ।
४ महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीले सबैभन्दा धेरै कुल बिमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यसले कात्तिक महिनामा मात्रै ३४ करोड बढी बिमा शुल्क संकलन गरेको छ ।
यस अवधिमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्सुरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै २९ करोड ६ लाख बराबरको बिमा शुल्क संकलन गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको शिखर इन्सुरेन्सले ४ महिनामा १ अर्ब ४१ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । शिखरले कात्तिकमा २९ करोड २ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, नेको इन्सुरेन्सले ४ महिनामा १ अर्ब १५ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यसले कात्तिकमा २५ करोड ५१ लाख संकलन गरेको छ । हिमालयन एभरेष्टले ४ महिनामा १ अर्ब १४ करोड तथा कात्तिकमा २३ करोड १० लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले ४ महिनामा १ अर्ब १३ करोड कुल बिमा शुल्क संकलन गर्दा कात्तिक महिनामा २३ करोड ३९ लाख संकलन गरेको छ ।
एनएलजी इन्सुरेन्सले ४ महिनामा ९४ करोड १९ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेकोमा कात्तिक महिनामा १८ करोड ९७ लाख गरेको छ । त्यस्तै, ओरिएण्टल इन्सुरेन्सले ४ महिनामा ९२ करोड ८६ लाख तथा कात्तिकमा ९ करोड ९ लाख कुल बिमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्सुरेन्सले ४ महिनामा ८४ करोड १ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गर्दा कात्तिक महिनामा मात्रै १६ करोड बराबर संकलन गरेको छ ।
यसैगरी ४ महिनाको अवधिमा नेपाल इन्सुरेन्सले ४ महिनामा ७८ करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । सानिमा जीआइसी इन्सुरेन्सले ७७ करोड ९३ लाख, प्रभु इन्सुरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बिमा कम्पनीले ६१ करोड ४९ लाख, तथा नेशनल इन्सुरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् ।
लघु निर्जीवन बिमकहरुको ४ महिनाको व्यापार २६ करोड १४ लाख
नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को ४ महिनामा ४ लघु बिमकहरुले २६ करोड १४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १ लाख १ हजार ३६१ बिमा लेख जारी गरेका छन् । कात्तिकमा मात्रै लघु बिमकहरुले ७ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कात्तिकमा यी चार कम्पनीले ५ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ बिमांक रकम बराबरको ३१ हजार ५७१ बिमा लेख जारी गरेका छन् ।
४ महिनाको अवधिमा लघु निर्जीवन बिमकमध्ये नेपाल माइक्रोले सर्वाधिक व्यापार गरेको छ । यो कम्पनीले ७ करोड ९० लाख २० हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जसले कात्तिक महिनामा २ करोड ३९ लाख संकलन गरेको छ ।
यसैगरी, दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ । यो कम्पनीले ४ महिनामा ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कात्तिक महिनामा भने १ करोड ८० लाख संकलन गरेको छ ।
त्यस्तै, ४ महिनाको अवधिमा ट्रस्ट माइक्रोले ५ करोड ८९ लाख बिमा शुल्क संकलन गरेको छ भने स्टार माइक्रोले ५ करोड ९३ लाख संकलन गरेको छ । कात्तिक महिनामा ट्रस्ट माइक्रोले १ करोड ६६ लाख बिमा शुल्क संकलन गर्दा स्टार माइक्रोले १ करोड ७१ लाख संकलन गरेको छ ।
मोटर बिमा र सम्पत्ति बिमाबाट धेरै आम्दानी
चालु आर्थिक वर्षको ४ महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा सबैभन्दा धेरै मोटर बिमावापत कम्पनीहरुले ४ अर्ब ५९ करोड ३८ लाख बिमा शुल्क संकलन गरेका छन। यस अवधिमा ४ लाख ९५ हजार ५३१ मोटर बिमा लेख जारी भएका छन ।
जसमध्ये बागमती प्रदेशबाट मात्रै २ लाख ३८ हजार १४० मोटर बिमालेख जारी भएका छन् । बागमती प्रदेशबाट मात्रै यो शीर्षकमा २ अर्ब ७२ करोड ८७ लाख बिमा शुल्क संकलन गरेका छन् । कर्णाली प्रदेशबाट यो शीर्षकमा ६ करोड २८ लाख बिमा शुल्क संकलन गरेका छन । कर्णाली प्रदेशमा ८ हजार ३५ वटा मोटर बिमा लेख जारी भएका छन् ।
४ महिनामा मोटर बिमापछि निर्जीवन बिमा कम्पनीहरुले सबैभन्दा धेरै सम्पत्ति बिमाबाट शुल्क संकलन गरेका छन् । यस अवधिमा सम्पति बिमाबाट मात्रै ३ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा १ लाख ५९ हजार ६७६ वटा सम्पत्ति बिमा लेख जारी भएका छन् ।
यस अवधिमा बिमा कम्पनीहरुले बागमती प्रदेशबाट यो शीर्षकमा सबैभन्दा धेरै ६० हजार ३७२ बिमालेख जारी गरेर २ अर्ब २२ करोड ८९ लाख बिमा शुल्क संकलन गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट सम्पत्ति बिमाबापत ३ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कर्णालीमा यो शीर्षकमा ४ हजार १९६ बिमा लेख जारी भएका छन् ।
यसैगरी, ४ महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीहरुले इन्जिनियरिङग बिमावापत १ अर्ब ८३ करोड ४९ लाख, विविध बिमा वापत १ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, सामुन्द्रिक बिमा वापत ८१ करोड ७७ लाख, कृषि बिमावापत ६७ करोड ७९ लाख, हवाई बिमावापत ६६ करोड ४० लाख तथा लघु बिमावापत २६ करोड ८३ लाख तथा बिमा शुल्क संकलन गरेका छन् ।