धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तरवार्ता
काठमाडौं । धितोपत्र बजारको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन जना आवेदकको आज (मंसिर ९ गते) अन्तरवार्ता हुँदैछ।
उक्त पदको लागि छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको आज अन्तरवार्ता हुन लागेको हो।
व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि आज बिहान ८ बजे बोलाइएको छ। यस अघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
यस अघि सर्टलिस्टमा परेर पनि अन्तरवार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका उक्त तीन जना उम्मेद्वारलाई फेरि कार्यप्रस्तुति तथा अन्तरवार्ताका लागि बोलाइएको हो।
अर्थ मन्त्रालयले विशेष कारणवश अन्तरवार्ता रोकेको थियो। अध्यक्षको नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ सिफारिस समिति बनाएको थियो। छनोटको सूचीमा परेका अर्का उम्मेद्वार सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो। अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न उक्त तीन जना उम्मेद्वारलाई अन्तरवार्ताका लागि बोलाइएको हो।