झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेल ५ दिन हिरासतमा रहने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध सवारी ज्यानको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता नवराज अधिकारीले बताए ।
भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।