दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बाहिर धर्ना दिनेसँग कुनै सरोकार छैन : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बाहिर धर्ना दिनेसँग आफूहरुको कुनै सरोकार नभएको प्रष्टीकरण दिएको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले २०८१ कार्तिक १२ गते देखि यस कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल बाहिर धर्ना दिएकाहरुसँग सरोकार नभएको दाबी गरेको हो ।
धर्ना दिएकाहरुका कारण आमसर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत यस बारेमा केही भ्रम पर्न गएको भन्दै टेलिकमले स्पष्टीकरण दिएको हो ।
‘नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी Outsourcing को माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।’, टेलिकमले विज्ञप्तीमा उल्लेख गरेकाे छ ।
टेलिकम अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाईको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको जनाइएकाे छ ।
‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भईसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको व्यहोरा कम्पनी स्पष्ट पार्दछ ।’, टेलिकमले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।