स्थानीय तह उपनिर्वाचन : निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
त्यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए। कात्तिक २६ गते लागु हुनेगरी मुख्य निवार्चन अधिकृत र निवार्चन अधिकृत ताेकिएकाे सापकाेटाले बताएका छन्।
विभिन्न कारण स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुनेछ।
ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ।
त्यस्तै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयरपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पदका लागि निर्वाचन हुने आयोगले बताएको छ।
त्यस्तै काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ र गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, रुकुम पूर्व पुथा गाउँपालिका वडा नम्बर २, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, जाजरकोटको कुसे गाउँपालिकाको वडा नम्बर ७, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ५, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, बझाङको सूर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको कुनै पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनबाट पदपूर्ति हुने व्यवस्था छ।
उपनिर्वाचनका लागि आयोगले मंसिर २ गते मनोनयन दर्ताको कार्यतालिका तोकेको छ। मंसिर बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ।