आयल निगमका डिपो तिहार विदामा पनि खुला रहने
काठमाडौं । नेपाल आयल निगमले तिहार विदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गरी तिहारको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि विदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ ।
सूचनाअनुसार थानकोट डिपो ३ दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, धनगढी, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी, नेपालगञ्ज र दाङको इन्धन डिपो १ दिन तथा सुर्खेत र दिपायलको डिपो आवश्यकताअनुसार खुल्ने हुनेछ ।
नगमले सम्बन्धित कार्यालयहरु बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।