अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरी आवश्यक कानुनी कारबाही गरिने बताए ।
जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदा पनी अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथि स्थलगत अनुगमन गरी कानुन विपरीत गर्नेलाई कारबाहीको दयरामा ल्याउने बताए । उनले मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको स्पष्ट पार्दै प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताए । उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए ।
सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्ड्रस्ट्रीज प्रालि बनदेउ क्रसर उद्योग र बच्छलादेबी एग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवा सहित टिपर आवश्यक कारबाही लागि नियन्त्रणमा लिइएको छ भने बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्रराज गिरीले नदीबाट बालुवा निकाल्नका लागि २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडियो र फोटो खिचेपछि फोटो नखिच्न र भिडियो नबनाउन भन्दै पत्रकार नेत्र बस्नेतमाथि अभद्र व्यवहार समेत गरेका थिए ।
अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाए पनि बछलादेबीका सञ्चालक गिरीले भने नगरपालिकाको लापार्बाहीका कारण ठेक्का नलागेको, आफूले बुझाउनुपर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए ।
खोलाको अनुगमन गर्नुपर्दैन भन्दै गिरीले विभिन्न बाहाना बनाइ अल्मल्याउन खोजेपछि प्रजिअ र प्रहरी प्रमुख सहित खोलामा स्थलगत अनुगमन गर्न गएपछि गिरी आक्रोसित बनेका थिए ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान , इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिवालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रबन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो ।