३ महिनामा बैंकहरुले कमाए १६ अर्ब २३ करोड नाफा
काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार समग्रमा यिनीहरुको खुद नाफा गत वर्षको यसैअवघिको तुलनामा २१.६३ प्रतिशतले बढेको छ । असोजसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत वर्ष उक्त नाफा १३ अर्ब ३४ करोड थियो । बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । यसले ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कर्मसियलले १ अर्ब २८ करोड, एनइमबिले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ११ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । बैंकहरुको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो ।