नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन

काठमाडौं । नेपाल उद्योग परिसंघले संस्थाका पूर्वउपाध्यक्ष वसन्तराज मिश्रको निधनमा स्तब्ध भएको जनाएको छ ।
‘नेपालको पर्यटन उद्योगका विषयमा सधैं चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,’ संघले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।’
मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ । चार दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान् तथा अभिभावक गुमाएको परिसंघले बताएको छ ।
टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष भएर काम गरेका थिए ।