नख्खु बाढीमा पसि बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
काठमाडौं । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका वडा न. २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय श्री चनिकलाल तामाङज्यूलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ ।
असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गर्नुभएका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ३० लाख बीमाङ्क रकमको बीमालेख सहित रु.११ हजार नगद सम्मान स्वरुप प्रदान गरे ।
कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले थपे, यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको छु । सबैले आफ्नो क्षमता अनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।