चोरिएका नेपाली मूर्तिहरुको कथा ‘ह्याभ यू सिन माइ गड्स’को विशेष प्रदर्शनी
काठमाडौं । अमिताभ जोशीले निर्माण गरेको वृत्तचित्र ‘ह्याभ यू सिन माइ गड्स ?’ यही बुधबार साँझ ८ बजे ठमेलस्थित क्युएफएक्स छाया सेन्टरमा विशेष प्रदर्शन हुँदैछ ।
अमेरिकामा हुने आधिकारिक प्रशारणअघि विज्ञहरू र आम दर्शकहरूबाट सुझाव र प्रतिक्रिया संकलन गर्ने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । जसले नेपालका सांस्कृतिक सम्पदाको पुन: प्राप्ति सम्बन्धी अभियानमा जनचेतना फैलाउने लक्ष्य राखेको छ।
१९८४ मा चोरी भएको लक्ष्मी-नारायण मूर्ति र त्यसलाई फिर्ता ल्याउन गरिएको प्रयासको कथामा यो फिल्म केन्द्रित छ । जुन अन्ततः २०२१ मा यसको मूल मन्दिर पाटनमा फिर्ता ल्याइएको थियो। निर्देशकको व्यक्तिगत सम्बन्धले यस कथालाई अझ मार्मिक बनाएको छ ।
विशेषगरी उनले आफ्नो बिरामी हजुरआमाको विश्वासलाई चित्रण गरेका छन् । जसमा उनको रोग चोरी भएका मूर्तिहरूसँग सम्बन्धित थियो। मूर्ति फिर्ता भएको केही समयपछि हजुरआमाको मृत्यु हुनुले यस कथाको भावनात्मक पक्षलाई थप गहिरो बनाएको छ।
यस वृत्तचित्रमा पत्रकार कनक मणि दीक्षित, अलीशा सिजापति, साथै कलाकार तथा कार्यकर्ता लैन सिंह बंग्देल, जुर्गेन शीक र जोय डेविसको योगदान समेटिएको छ।
उनीहरूले नेपालको सांस्कृतिक सम्पदाको फिर्तीको लागि दशकौंदेखिको संघर्षलाई चित्रण गर्दै आएका छन् । जसले पवित्र वस्तुहरू संग्रहालयमा राख्ने कि उनीहरूलाई सांस्कृतिक सन्दर्भमा फिर्ता गर्ने भन्ने बहसलाई पर्दामा ल्याउँछ।
प्रदर्शनपछि वृत्तचित्रका निर्देशकसँगको प्रश्नोत्तर सत्र दिनेश फाउण्डेसनका संस्थापक सदस्य, लेखक तथा परोपकारी नीवा एम. प्रधानले सञ्चालन गर्नेछन् । यस कार्यक्रमलाई दया फाउण्डेसन, निम्ब बैंक, र नेपाल कला परिषदले प्रायोजन गरेका छन्।
वृत्तचित्र ‘ह्याभ यू सिन माइ गड्स?’ अमिताभ जोशी र एरिक स्पिंकले स्थापना गरेको उत्पादन कम्पनी भ्याकेन्ट लाइटद्वारा निर्माण गरिएको हो । जसले एकेडेमी अफ मोसन पिक्चर्स, द फोर्ड फाउण्डेसन र सेन्टर फर पब्लिक ब्रडकास्टबाट प्रशंसा पाएको छ।