१३औं राष्ट्रिय मानव संसाधन सम्मेलनको मानव केन्द्रित नेतृत्वमा जोड
काठमाडौँ । ह्युमन रिसोर्स सोसाइटी नेपाल (HRSN) ले काठमाडौँको एभरेष्ट होटेलमा १३औं राष्ट्रिय मानव संसाधन सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यो। यस वर्षको सम्मेलनको मुख्य विषय “मानव केन्द्रित नेतृत्व – प्रबिधी र संगठन भन्दा अगाडि” रहेको थियो। सम्मेलनमा नेपालभरबाट करिब २०० जना मानव संसाधन विज्ञहरुको सहभागिता रहेको थियो।
सम्मेलनको अध्यक्षता HRSN का अध्यक्ष टेकराज शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले उद्घाटन गरे । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र भारतको नेशनल एचआरडी नेटवर्क (NHRDN) का अध्यक्ष प्रेम सिंह सहभागी थिए ।
सम्मेलनमा राष्ट्रिय वक्ताहरुको विभिन्न महत्त्वपूर्ण सत्रहरु सम्पन्न भए, जसमा प्रतिष्ठित व्यावसायिक नेताहरुको प्यानलले पनि विशेष सहभागीता जनाएका थिए। कार्यक्रममा नेतृत्वले कसरी प्रविधि र संगठनको परिधिलाई पार गरेर मानव केन्द्रित दृष्टिकोणलाई आत्मसात गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरियो। यसै अवसरमा HRSN को पहिलो समाचार पत्रिकाको पनि विमोचन गरियो।
ह्युमन रिसोर्स सोसाइटी नेपाल (HRSN) एक गैर-नाफामूलक संस्था हो, जसले संस्थाहरुमा उत्तम मानव संसाधन अभ्यासको कार्यान्वयनको वकालत गर्दै आएको छ। सोसाइटीले आफ्नो स्थापना कालदेखि नै नेपाली कामदारहरुको हितमा सरकारसँग मिलेर विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। वार्षिक राष्ट्रिय मानव संसाधन सम्मेलन र ज्ञान आदानप्रदानका कार्यक्रमहरू HRSN को प्रमुख पहलहरू हुन्, जसले मानव संसाधन उत्कृष्टताको प्रवर्धन गर्न योगदान पुर्याउँछन्।