आजदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने, कति सम्म पाइन्छ साट्न?

काठमाडौं। आगामी दसैंका लागि आज असोज १३ गते आइतबारदेखि सुकिला नोट साट्न पाइने भएको छ। सर्वसाधरणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सक्नेछन्। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने छ ।
साथै, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ । केन्द्रीय बैंकले असोज २२ गतेसम्म सुुकिला नोट साट्न पाइने जनाएको छ ।
विगतका वर्षहरुमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर, यस वर्ष केन्द्रीय बैंकले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्न लागेको हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।