सरकारसँग २० खर्ब ९२ अर्ब विदेशी मुद्रा सञ्चिति
काठमाडौं । बढ्दो रेमिट्यान्स तथा घट्दो आयातले नेपालको शोधनान्तर स्थिति निरन्तर सकारात्मक बन्दै गइरहेको छ । चालु आवको साउन महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले सकारात्मक देखिएको छ । अघिल्लो वर्ष साउन महिनामा शोधनान्तर बचन ३६ अर्ब ४३ करोड रुपैयाँ मात्रै थियो ।
विगत केही महिनादेखि १ खर्बभन्दा बढी भित्रिरहेको रेमिट्यान्सलाई साउन महिनामा पनि निरन्तरता पाएको छ । साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा १८ प्रतिशतले बढी हो । बढ्दो रेमिट्यान्स र घट्दो व्यापार घाटाको नतिजा स्वरुप नेपालको शोधनान्तर बचत बढ्दै गएको हो ।
त्यसैगरी राष्ट्र बैंकको ढुकुटीमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ वैदेशिक मुद्रा थुप्रिएको छ जुन अमेरिकी डलरमा हिसाब गर्दा १४ अर्ब ५८ करोड हुन आउँछ । यो सञ्चितिले साढे १३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले चालु आवको पहिलो महिनामा ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरी ४० अर्ब २१ करोड रुपैयाँ खर्च गरेका छन् । राजस्व परिचालनको हिसाबले समेत पहिलो महिना सरकार बचतमा देखिएको छ ।