कृषि मन्त्री अधिकारी र नेपालका लागि भारतिय राजदुत श्रीवास्तव वीच भेटवार्ता
काठमाडौ । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारी सँग नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरवार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले भारतले नेपालको कृषि क्षेत्रमा पुर्याउदै आएको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे ।
कृषि अनुसन्धान ,प्रविधि हस्तान्तरण र क्षमता कार्यक्रमहरुमा भारत सरकार सँगको निरन्तरको सहकार्यले नेपालको कृषि उत्पादनहरुमा गुणस्तर र परिमाण दुवैमा सुधार ल्याएको छ— मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले नेपालको कृषि उत्पादन भारतीय बजार सम्म सहज पँहुच पुर्याउन सहजीकरण गरिदिन पनि राजदुत समक्ष आग्रह गरे ।
सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुई देशवीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले पशु र पन्छीमा देखिएका विभिन्न रोगहरुको रोकथाम तथा कृषि उपजको आयात निर्यातका लागि सीमा क्षेत्रमा थप क्वारेन्टाइनको व्यवस्थ गर्न आवश्यक रहेको वताए । सरकार सरकार तवरवाट मल खरिदमा केही समस्या र चुनौतीहरु आएको भन्दै मन्त्री अधिकारीले खरिद प्रकृयालाई सरल , सहज र प्रभावकारी वनाउन राजदुत समक्ष आग्रह पनि गरे ।
भेटवार्तामा भारतीय राजदुत श्रीवास्तवले नेपालको कृषि क्षेत्रमा भारतले विगत देखिनै सहयोग गर्दे आएको उल्लेख गर्दे नेपालको चाहना अनुसार आगामी दिनमा सहयोग बृद्धि गर्न भारत ईच्छुक रहेको वताए ।