दशैँ तिहारमा घर जानेका लागि शनिवारदेखि अग्रिम बसकाे टिकट बुकिङ खुला
काठमाडौं । दशैँ तिहारमा गाउँघर जानेहरूका लागि अग्रिम बस टिकटको बुकिङ खुला हुने भएको छ । यात्रुहरूले असोज १२ गते, शनिबारदेखि टिकट बुक गर्न सक्नेछन् । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।
उक्त बैठक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको थियाे। टिकट बुकिङका विषयमा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइसकेको विभागले जनाएकाे छ । अब एक-दुई दिनमा नै यातायात व्यवस्था विभागसँग विभागले बैठक गरी अग्रिम टिकट खुला गर्ने भएकाे हाे । साे बैठकले व्यवसायीका मागका विषयमा सातबुँदे निर्णय गरेको छ ।
यससँगै, घटस्थापना अघि नै सडक विभाग अन्तर्गतका सबै सडक मर्मत सम्भार गर्न बैठकले निर्देशन दिएको छ।
यसका साथै, बिपी राजमार्गकाे सडक सुरक्षाका लागि भन्दै साना सवारी मात्र सञ्चालन गर्न तथा रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेकाे छ । बैठकले अर्काे निर्णय गर्दै विभागले त्यसको अनुगमन गरेर यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने भएकाे छ।
यससँगै, विभागले सवारीसाधनको यान्त्रिक परीक्षण गर्दै गन्तव्यमा जान सहज व्यस्थापन गर्ने भएको छ। उक्त बैठकले वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाे भन्दै छठ पर्वको एक सातापछि समायोजन गर्ने निर्णय गरेको छ ।