महिना दिनमै १ अर्ब रुपैयाँले बढ्यो सेयर धितो कर्जा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सेयर धितो कर्जा १ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ । साउनमा मात्रै वाणिज्य बैंकहरुले १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले समग्रमा ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो असारको तुलनामा १.९२ प्रतिशतले बढी हो ।
असार मसान्तसम्म बैंकहरुले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । यता, समग्रमा वाणिज्य बैंकहरुसहित बैंक–वित्तीय संस्थाहरुले साउन अन्तिमसम्ममा कुल ९१ अर्ब ४४ करोड ३२ रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । असार अन्तिमसम्ममा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउनुका साथै जोखिम भारित अनुपात घटाएपछि यस क्षेत्रमा लगानी बढेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा पनि खारेज गरेको छ ।
यसले आगामी दिनमा यस क्षेत्रको कर्जा अझै विस्तार हुने आँकलन गर्न सकिन्छ । व्यक्तिगत सीमा भने कायम नै राखेको छ । सेयर कर्जामा व्यक्तिगत सीमा १५ करोड रुपैयाँ छ । तर ब्याजदर निकै सस्तो हुँदै गएको छ । सेयर बजारमा उत्साह पनि बढेको छ । यसकारण सेयर धितो कर्जा लिनेहरु बढ्न थालेको बैंकरहरुको भनाई छ ।
साउन मसान्तसम्म आइपुग्दा समग्रमा वाणिज्य बैंकहरुले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । १ महिनामा ११ वाणिज्य बैंकहरुको सेयर धितो कर्जा बढेको छ भने ८ बैंकको घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन ।
सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । साउन मसान्तसम्म आइपुग्दा यसले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ । यता, नेपाल बैंकले भने ६ अर्ब ९२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सबैभन्दा कम सेयर धितो कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । यसले साउन मसान्तसम्ममा ४२ करोड ९४ लाख रुपैयाँमात्र सेयर धितो कर्जा प्रवाह गरेको छ । तथापि, अघिल्लो महिनाको तुलनामा यो ११३.०२ प्रतिशतले बढेको हो । असार मसान्तसम्म यस बैंकले सेयर धितो कर्जामा २० करोड १५ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको थियो ।