राष्ट्रिय व्यवसायिक पहलको अठारौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (पहल) को अठारौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको समुद्घाटन गर्दै माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको अत्यन्त ज्वलन्त मुद्दाहरूमा पहल ले प्रशंसनीय कार्यहरू गर्दै आइरहेको र भविष्यमा थप सशक्त भएर अगाडि बढ्न सुझाव व्यक्त गर्नुभयो। वहाँले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्याको पहिचान गरी मुलुकको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउन आजको प्रमुख चुनौती रहेको यसका लागि व्यवसायी र सरकार बिच राष्ट्रिय वहसको आवश्यकता औंल्याउँदै यसमा अग्रसरता लिन पहललाई आग्रह गर्नुभयो। अर्थतन्त्रको आधारको रुपमा रहेको निजी क्षेत्रका हरेक समस्या समाधानको लागि सरकार सदैव प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्र र सरकार बिच विश्वासको वातावरण सिर्जना गरी एकता र सहकार्यमा जोड दिनुपर्ने बताउनु भयो। व्यावसायिक सामाजिक जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय व्यवसायिक पहल लगायत अन्य संघ संसथासँग सुधारका लागि सल्लाह र सुझाव लिइरहेको प्रकाश पार्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष कुशकुमार जोशीले सरकार र निजी क्षेत्रले सम्बोधन गर्न नसकेको क्षेत्रमा कार्य गरिरहेको जानकारी गराउँदै व्यावसायिक सामाजिक जिम्मेवारी, आचार संहिताको निर्माण, व्यावसायिक वातावरणको विकास, मानव अधिकारका क्षेत्रमा सरकार र दातृ निकायसँगको सहकार्यमा मुलुकभर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुभयो। निजी क्षेत्रले व्यावसायकि सामाजिक जिम्मेवारी तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यवसायलाई सम्मान गर्ने अभ्यासको पहल ले थालनी गरेको बताउँदै आगामी दिनमा यस किसिमका सकारात्मक कार्यलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले सशस्त्र द्वन्द्वको कहालीलाग्दो अवस्थामा शान्ति पुनर्स्थापनाका लागि पहल को उदय भएको इतिहास साझा गर्नुभयो र नेपालमा दीगो शान्तिका लागि निजी क्षेत्रका प्रयासलाई पहलले निरन्तरता दिने प्रकाश पार्नुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शुभकामना मन्तव्य राख्दै द्वन्द्वकालको बेलमा उद्यमी व्यवसायीका लागि सहज वातावरण निर्माण गर्न पहलले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सबै व्यवसाय जिम्मेवार हुनुपर्छ भन्ने विचार राख्दै व्यक्ति वा समूह विशेषलाई मात्र फाइदा हुने गरी बनेका नीति र अन्य नीतिगत वेथितिका कारण विधि र पद्धतिबाट व्यवसाय चल्न नसकेको अवस्था रहेको बताउनुभयो। यसको सुधारका लागि सबैले मिलेर सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले व्यावसायिक वातावरण सुधारमा पहलको प्रभावकारी भूमिकाको सह्राना गर्नुभयो। परिसंघले पनि व्यावसायिक जिम्मेवारीको महत्त्व बोध गरेको बताउँदै व्यावसायिक सामाजिक जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनमा सहकार्यका लागि पहलसँग आग्रह गर्नुभयो।
महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले आफ्नो मन्तव्य राख्नुहुँदै सबै जनताको आर्थिक सशक्तिकरण नभइकन शान्ति र समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गर्नुभयो। ५२% जनसङ्ख्या भएता पनि महिलाले व्यवसाय सञ्चालनमा वित्तिय पहुँचको अभाव, सीप र दक्षताको कमी, कच्चा पदार्थको अभावका कारण समस्या खेप्नुपरेकोमा दुख व्यक्त गर्नुभयो। सरकारसँग सँगै ठूला उद्योगहरूले साना, घरेलु तथा मझौला उद्योगको उत्थानका लागि सहकार्य गर्न आग्रह गर्नुभयो। नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेश प्रसाद सिंहले शुभकामना सहितको मन्तव्य राख्दै घरेलु तथा साना उद्योगको समस्यालाई बुझेर सरकारले अघि सारेका स्वदेशी उत्पादन प्रबर्द्धन र स्टार्टअप सम्बन्धी प्रयासको प्रशंसा गर्नुभयो।
महासचिव सुरेन्द्रवीर मालाकारले आयव्ययको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै मुलुकको वर्तमान विषम आर्थिक सामाजिक अवस्थामा समेत पहल ले सक्रियताका साथ कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो। सह-कोषाध्यक्ष विनायक शाहले आयव्ययको विवरण पेश गर्नुभएको थियो। धन्यवाद ज्ञापन गर्दै अध्यक्ष जोशीले पहल को दुई दशक यात्राको अवधिमा अत्यन्त परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सफल भएकोमा सहयोग गर्ने नेपाल सरकार, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा पहल को हालसम्मका मुख्य गतिविधि र भावी योजनाबारे प्रस्तुतिकरण गरिएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष सुकुन्तलाल हिराचन लगायत पदाधिकारी, कार्यसमिति सदस्यहरू र साधारण सदस्यहरू साथै सरकारी अधिकारीहरू, दातृ निकायका प्रतिनिधिहरू र मिडियाको उल्लेख्य उपस्थिति रहेको थियो।