वीरगञ्ज उद्योग वाणिज्य संघले गर्याे बीमा सम्बन्धी अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वीरगञ्ज उद्योग वाणिज्य संघकाे सहकार्यमा आयोजना गरेकाे बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक भएकाले थप अध्ययन गरी समाधान निकाल्ने बताए ।
अध्यक्ष सिलवालले फ्रड क्लेमको समस्या निकै देखिएकाले त्यसको समाधानका लागि निरन्तर कार्य भइरहेको जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने र बीमा कम्पनीहरू पारदर्शी हनुपर्ने विचार व्यक्त गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हुने गरेको र कोरोना बीमाको बाँकी दाबी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको धारणा राखे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मोटरबीमा निर्देशिका परिमार्जनको क्रममा रहेको र ट्रेडिङ तथा म्यानुफ्याक्चरीङका सम्बन्धमा अध्ययन भइरहेको बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।