दक्षिण एसियाली निर्वाचन व्यवस्थापन मञ्चको बाह्रौँ सम्मेलन सम्पन्न
काठमाडौं। निर्वाचन आयोग नेपालको आयोजनामा मिति २०८१ भदौ १९ गते दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च (FEMBoSA) को बाह्रौँ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनको अन्त्यमा “काठमाडौं घोषणापत्र” जारी गरिएको छ।
यस सम्मेलनमा नेपाल, भारत, भुटान, श्रीलंका, र माल्दिभ्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकारीहरूको उपस्थिति थियो। सम्मेलनमा प्रमुखत: तीनवटा विषय-“निर्वाचन र जलवायु परिवर्तन,” “निर्वाचन र आप्रवासन,” र “निर्वाचन र सामाजिक सञ्जाल”-माथि विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गर्दै विस्तृत छलफल गरियो।
काठमाडौं घोषणापत्रमा सदस्य राष्ट्रका निर्वाचन व्यवस्थापन निकायहरूको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्दै आपसी सहयोग र सिकाइ प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ। यसअन्तर्गत अनलाइन प्लेटफर्ममार्फत ज्ञान, सान्दर्भिक अध्ययन प्रतिवेदनहरू, र अनुसन्धान प्रकाशनहरू साझेदारी गर्ने सहमति पनि गरिएको छ।
जलवायु परिवर्तनले निर्वाचन प्रक्रियामा पर्ने असरलाई ध्यानमा राख्दै वातावरणमैत्री र मितव्ययी निर्वाचन प्रविधि तथा अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिवद्धता घोषणापत्रमा व्यक्त गरिएको छ।
साथै, कृत्रिम बुद्धिमत्ता (AI) र सामाजिक सञ्जालले सिर्जना गरेका अवसरहरूबाट लाभ उठाउन तथा यसका जोखिम र चुनौतीहरूलाई नियन्त्रण र न्यूनीकरण गर्न सबै सहभागी निकायहरूले संयुक्त रणनीति तथा कार्य योजना बनाउन सहमति जनाएका छन्। रोजगारी, शिक्षा वा अन्य उद्देश्यका लागि विदेशमा रहेका नागरिकलाई निर्वाचन प्रक्रियामा समावेश गर्न पनि प्रतिवद्धता व्यक्त गरिएको छ।
घोषणापत्रमा विगतका सम्मेलनमा गरिएका महत्त्वपूर्ण निर्णयहरूको द्रुत कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। FEMBoSA का सदस्य राष्ट्रहरूले अध्यक्षताको अवधिका लागि अध्यक्ष सदस्य देशको निर्वाचन व्यवस्थापन निकायमा मञ्चको सचिवालय राख्न सहमति जनाएका छन्, जसले सदस्य राष्ट्रहरूबीच नियमित सम्पर्क, अद्यावधिक नीतिहरूको अभिलेख राख्ने, र अन्य महत्त्वपूर्ण सहयोगी कार्यहरू सञ्चालन गर्नेछ।
यस सम्मेलनमा नेपाललाई दक्षिण एसियाली मुलुकहरूको निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च FEMBoSA को नयाँ अध्यक्षमा चयन गरिएको छ।